Tuesday, April 16, 2019

विद्यार्थीलाई चरम यातना दिएको आरोप

प्रस, वीरगंज, ३ वैशाख/
    नेशनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई व्यवस्थापन पक्षले चरम यातना दिने गरेको अभिभावकले आरोप लगाएका छन् ।
    विभिन्न बहानामा विद्यार्थीलाई कुट्ने गरेको अभिभावक दिनानाथ यादवले आरोप लगाए । जिल्ला प्रहरी कार्यालयमा उजूरी लिएर जाँदा प्रहरीले दर्ता गर्न नमानेको उनको आरोप छ । एमबिबिएसमा अध्ययनरत विद्यार्थीहरूमध्ये जनकपुर, भानुचोक, पोखरीटोल निवासी सुमीत यादवलाई अस्पताल व्यवस्थापन पक्षले निर्घात कुटपिट गरेको अभिभावकको आरोप छ ।
    आज बिहान अभिभावकको अगाडि व्यवस्थापन पक्षले फाटाले कुट्दै नियन्त्रणमा लिई पुनः कोठामा थुनेर कुटेको अभिभावक यादवले बताए । नारायणी अस्पतालमा उपचार गराउन आएका घाइते विद्यार्थी यादवको जीउभरि नीलडाम छ ।
    विद्यार्थीका अनुसार एक साता अघि सिनियर र जुनियर विद्यार्थीबीच खेल हुँदा बल पानीमा गएपछि विवाद शुरू भएको र सोही विषयलाई लिएर व्यवस्थापन पक्षले यादवलाई कुटपिट गरेको हो ।
    यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रनाउ अनन्तराज शर्माले  यस्ता उजूरी जिल्ला प्रशासनमार्पmत आएमा दर्ता गरिने जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार आवश्यक प्रक्रिया अघि बढाउने बताए ।
    अस्पतालका निर्देशक डा. प्रमोद सर्राफले घटना एक साता अघिको हो र आज पनि केही विद्यार्थीलाई सम्झाउने बुझाउने काम भएको तर सो सम्बन्धमा सम्पूर्ण जिम्मेवारी प्रिन्सिपल नीलमणि उपाध्यायको रहेको बताए । उनले प्रिन्सिपल उपाध्यायको सम्पर्क मोबाइल दिन रोक लगाएको बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us