Tuesday, April 16, 2019

राजमार्गका अधिकांश पुल र सडक जीर्ण, साँघुरो पुलमा बढी भारका गाडी सञ्चालन

जीतलाल श्रेष्ठ, बारा, ३ वैशाख/
    राजमार्गका अधिकांश ठूला–साना पुल जीर्ण बनेका छन् । लगभग चार दशक अघि निर्माण भएका यी पुलहरू दिन प्रतिदिन जीर्ण बन्दै गइरहेका छन् । राजमार्ग अन्तर्गत बारामा पर्ने बकैया, पसाह, दुधौरा, १, २ र ३ नम्बर पुल जीर्ण भइसकेका छन् । यी पुलहरूले झोलुङ्गे पुल वा भुइँचालो आउँदा हल्लिएको आभास दिन थालेका छन् ।
    यहाँबाट साना सवारी साधन आवत जावत गर्दासमेत हल्लिन्छ । यस्ता प्रकृतिका पुलहरूमा अधिक भारवहन गरेका गाडीहरू जबर्जस्ती दोहोरो छिर्छन् । निजगढ, बकैया पुल नजीकै जिल्ला ट्राफिक प्रहरी कार्यालय छ । तर पनि ट्राफिक नियमविपरीत पुलमा गाडी जबर्जस्ती सञ्चालन हुन्छन् । यसरी साँघुरो पुलमा गाडी हुलेपछि कम्तिमा १५/२० मिनेटदेखि एक डेढ घण्टासम्म सडक जाम हुन्छ । कहिलेकाहीं चालक/ चालकबीच विवाद र हात हालहालको अवस्था सिर्जना हुन्छ ।
    तीन दशक अघिदेखि यही सडकमा काम गर्ने लेन्थमेन कृष्णबहादुर दाहाल यी पुलहरूको भविष्य देख्दैनन् । “कति खेर पुलै भाँचिएर ठुलो दुर्घटना निम्तिन्छ”— उनी त्रस्त छन् । क्षमताभन्दा बढी भार बोकेर गाडी कुदिरहेका हुन्छन् । ट्राफिक प्रहरीले क्षमताभन्दा बढी भार बोक्ने गाडीलाई कारबाही नगरेको होइन । तर पनि १६ चक्के, १८ चक्के भारतीय गाडी यहीबाट गन्तव्यतर्फ लाग्छन् । जसले गर्दा यहाँका पुलमात्र हैन, सडक सतहसमेत जीर्ण भइरहेको छ ।
    बेला बखत सडक विभागले ठेक्का लगाउँदै पुलको रङ्गरोगन र सडकको खाल्टाखुल्टी टालटुल पार्छ । सडक विभागले यस्ता काम चाडवाडको मुख मात्र गर्छ ।
    चाडपर्वको मुखमा गरिने यस्ता खाले काममा डिभिजन सडकका प्राविधिक र ठेकेदारको मिलेमतो भएर कमसल काम हुन्छ । हाकिम, प्राविधिक र ठेकेदारको मिलेमतोमा गरिने यस्ता कामको गुणस्तर नहुने स्रोत दाबी गर्छ ।
    करीब ४० वर्ष अघि तत्कालीन सोभियत सङ्घको सहयोगमा निर्मित यी सडक र पुलहरूको सरकारले बेलैमा  मरम्मत सम्भार गरेको पाइँदैन । पुलको भारवहन क्षमताभन्दा बढी सवारी साधन गुड्छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us