Saturday, April 13, 2019

भारतको सुभद्रामाई दर्शन गर्न नेपालीहरूको भीड

प्रेम लामा/ओमप्रकाश चौधरी, ३० चैत/
    पर्साको ठोरीसँग सिमाना जोडिएको भारतको सुभद्रास्थित प्रसिद्ध धार्मिक तीर्थस्थल आदिशक्ति सुभद्रामाई मन्दिरमा दर्शनार्थीहरूको ठूलो भीड लागेको छ ।
    चैत्र प्रतिपदादेखि दर्शनार्थीहरू सुभद्रामार्ई दर्शनका लागि आउने गरेको भए तापनि विशेषगरी नवमीका दिन भक्तजनहरूको ठूलो भीड लागेको हो । सुभद्रामार्ईको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ भारतलगायत नेपालका विभिन्न शहरबाट पनि सुभद्रामार्ईको दर्शनका लागि भक्तजन आउने गरेको मन्दिरका पुजारी दयानन्द तिवारीले बताए ।
    नेपालको पूर्वी तथा पश्चिमी तराई–मधेस क्षेत्रलगायत चितवन, कास्की, काठमाडौंबाट समेत सुभद्रामाई दर्शनका लागि भक्तजनहरू आउने गरेको उनले बताए । मन्दिरमा नौ दिनसम्म विशेष भीड लाग्ने गर्दछ । पर्साको ठोरीदेखि झन्डै ९ किलोमिटरको दूरी यात्रा गरेपछि सुभद्रामाई मन्दिर पुग्न सकिन्छ ।
    विशेषतः थारू जातिको ऐतिहासिक धार्मिक तीर्थस्थलको रूपमा परिचित सुभद्रामाई मन्दिरमा भारतीय तथा नेपाली भक्तजनहरूको ठूलो भीड लाग्ने गरेको हो ।
    रामनवनीका दिन मन्दिरमा दहित परिवारका ज्येष्ठ सदस्य जगन दहित थारूले पहिलो पूजा तथा पहिलो बलि चढाएपछि मात्र अरूले पूजा र बलि चढाउने चलन छ ।
    द्वापरयुगमा भगवान् श्रीकृष्णकी बहिनी सुभद्रा थिइन् । उक्त क्षेत्रमा सुभद्राले दही बेच्ने गर्थिन् । दही बेच्न जाने बेलामा सुभद्राले बहुमूल्य दिव्य आभूषण पहिरिएर जाने गर्थिन् । एक समय दही बेच्न जानेक्रममा उनको बहुमूल्य दिव्य आभूषण लुट्ने प्रयास भयो ।
    सोही समयमा उनले दहीको भाँडो फालिन् । दहीको भाँडो फालेपछि सोही ठाउँमा सुभद्रा विलीन हुँदै ढुङ्गामा परिणत हुन पुगिन् । सुभद्रा विलीन भएको उक्त स्थानमा वर्षौं पहिलेदेखि मन्दिरको स्थापना गरी पूजा आराधना हुँदै आइरहेको छ । त्यसै बेलादेखि पहिलो पूजा र बलि दहित परिवारका ज्येष्ठ व्यक्ति चढाउने गरेको अशोक दहित थारूले बताए ।
    उक्त मन्दिरमा पूजा गर्ने मुख्य पुजारी महिला नै छिन् ।
    अहिले ठोरी, महादेवपट्टि, र जानकीटोलाको नाका भएर मेला भर्न जाने नेपाली भक्तजनको सङ्ख्या निकै बढेको भारतीय सीमा सुरक्षा बल भङ्गाहाले जनाएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us