Friday, April 26, 2019

भग्नावशेष र पानीमा देखिएको विम्ब

सञ्जय मित्र
    स्वच्छ र शान्त जलमा नजीकको वस्तुको विम्ब निकै स्पष्ट देखिन्छ । वास्तवमा सफा पानीले आप्mनोभित्रको र बाहिरको दुवैतिरको वस्तुलाई देखाउँछ । यसैकारण कतिपयले भन्ने गर्दछन् – मानिसको मन पानीजस्तै सफा हुनुपर्छ । पानीजस्तै सफा हुनुको अर्थ यो पनि हो कि मन चाहिं सफा हुनुपर्छ र चरित्र पनि सफा हुनुपर्छ । मानिसको आनीबानी, संस्कार र चिन्तन स्वच्छ भयो भने मानिस वास्तवमा मानिस हुन सक्छ । मानिसले मानिस हुन पानी बन्नु पर्छ भन्नुको तात्पर्य यो होइन कि जहाँ छ त्यहाँबाट जहिले पनि तलतिर बग्नु पर्छ । बरु यो हो कि भित्र सतहमा जतिसुकै उतारचढाव होस् तर माथिको सतह भने सम्म हुनु आवश्यक छ ।    पानी आफैं फोहोर हुँदैन । पानीलाई फोहोर पार्ने काम भित्रबाट भन्दा बाहिरबाट हुन्छ । सामान्यतया पानीको अनुहार मलिन हुँदैन । पानीको चरित्र प्रवाहशीलतामा स्पष्ट हुन्छ । यसको अर्थ यो कदापि होइन कि स्थिर पानी सफा हुन सक्दैन । स्थिर पानी सफा हुन सक्छ, सफा रहन सक्छ । ऐनाको सतहजस्तो पनि सफा वा पारदर्शी पनि हुन सक्छ । पारदर्शी हुनु त पानीको जस्तो ।
    बाहिरको पनि देखाउने र भित्रको पनि देखाउने क्षमता पानीको हुन्छ । पानीले बाहिरको दृश्यलाई विम्बको रूपमा अझ सुन्दर देखाउँछ । र सुन्दरता हरेकलाई मन पर्छ । अझ प्राकृतिक सुन्दरताले झन् सबैलाई लोभ्याउँछ । पानी आफैंमा प्राकृतिक सुन्दरता हो । वनस्पतिलगायत कुरा प्रकृतिको सुन्दर उपहार हुन् । यदि दुवैको सङ्गम कुनै एक ठाउँमा हुन्छ भने त्यो दृश्य अवर्णनीय हुन पुग्छ । प्रकृतिको पक्षमा वकालत गर्ने तथा प्रकृतिवादी कविहरूले त शरद पूर्णिमाको वर्णन यसरी गर्दछन् कि यस लोकको दृश्य नै होइन । यस्तै प्रकारको दृश्यको खोजीमा यस प्रकारका व्यक्तिहरू रहन्छन् ।
    गौतम बुद्धलाई तत्कालीन प्रकृति र विज्ञानको सङ्गमको रूपमा लिइन्थ्यो । अहिले पनि गौतम बुद्धलाई भगवान् मान्ने एक पक्ष छ भने अर्को पक्षले उनलाई तत्कालीन विज्ञानको ठूलो ज्योति मान्दछ । गौतम बुद्धसँग सम्बन्धित प्रमुख तीर्थस्थलहरूमा प्रकृति निकै नजीक रहेको पाइन्छ । उनको जन्मस्थल लुम्बिनीमा पोखरी र अन्य जलाशयहरू छन् । उनले ज्ञान प्राप्त गरेको बोधगयामा पनि पोखरी छ ठूलो । गौतम बुद्धले मृत्युवरण गरेको कुशीनगरमा पनि पोखरीहरू पर्याप्त छन् । गौतम बुद्धले प्राणत्याग गरेको मानिएको कुशीनगरमा अनेक भवन तथा दर्शनीयस्थलहरू जन्मस्थल र ज्ञानार्जनस्थलको जस्तै रहेका छन् । कुशीनगर त प्रकृतिकै काखमा बसेको देखिन्छ । प्रकृतिको फरक रूप यहाँ देखिन्छ । वास्तवमा लुम्बिनी, बोधगया र कुशीनगर तीनवटै ठाउँमा शान्तिको अनुभूति हृदयमा हुन्छ । कलकत्ताको हुगली नदीको किनारमा रहेको स्वामी विवेकानन्दको आश्रममा जे शान्ति पाइन्छ, त्यही अनुभूति बुद्धसँग सम्बन्धित प्रमुख तीन स्थानमा पनि पाइन्छ । कुशीनगरका पोखरी र खाल्टाखुल्टीहरू त्यहाँको प्रशासनद्वारा बडो जतनका साथ संरक्षित गरिएको छ ।
    साउनको महिनामा सामान्यतया पोखरीहरू आफैं भरिएका हुन्छन् । आकाशे पानी धरतीमा नचुहिने कुरै हुँदैन । त्यहीं पानीले खाल्टाखुल्टीहरू धनी भएका हुन्छन् । आप्mनो सम्पन्नताको उल्लास त मानिस, पशु तथा सवारी साधनको पैताला नपर्ने खाल्टाखुल्टी वा पोखरीले दर्शाएको हुन्छ, अनुहारै उज्यालो पारेर । साँच्ची पानीको सफा अनुहार र सफा पेट हेर्दै कति रमाइलो लाग्छ १ कुनै कोलाहलको पहुँचभन्दा टाढा र अझ आप्mनो मस्तिष्क पनि शान्त छ भने क्या बात् १ जलभित्र एक दुई साना माछाहरू आकाशमा कावा खाँदै उडिरहेकोजस्तो देखिओस् । त्यो पनि कुनै कुशीनगरजस्तो धार्मिकस्थलमा, जहाँ भगवान गौतम बुद्धको समाधिस्थलमा छ । वातावरणले त्यत्तिकै शान्ति दिइरहेको हुन्छ ।
    कुशीनगरमा दैनिक हजारौं पर्यटकहरू पुग्दछन् । पर्यटकहरूमा स्वदेशी र विदेशी पनि हुन्छन् । बौद्ध धार्मिकस्थलहरूको एउटा मुख्य विशेषता हुन्छ कि मानिसको भीड जतिसुकै होओस्, हल्लीखल्ली भने हुँदैन । शान्त हुन्छ । विदेशीका झुन्डहरू पनि कतै बसेर वा उभिएरै प्रवचन गर्दा एकजना मात्र बोल्ने हुन्छ र बाँकी सुन्ने हुन्छन् । निकै अनुशासित हुन्छन्, बौद्ध तीर्थयात्रीहरू ।
    खोज्दै गएको होइन, तर गत साउनमा चित्रमा देखिएको दृश्य आँखामा ठोकिएपछि धेरैबेर लोभ्याइरह्यो । दृश्यमा रूखहरू उँधोमुन्टो लाएकोजस्तो देखिन्छ । माथि जति सफा देखिन्छ, तल पनि उत्तिकै स्पष्ट । पानी चाहिं हलचलहीन, तर बिरामी वा मृत होइन । मुस्कुराइरहेको लाग्ने पानीको अनुहार । पेटमा भग्नावशेषहरू जोगाइरहेका खाल्टाहरूले भनेजस्तो लाग्थ्यो – यस ठाउँलाई सुरक्षित राख्ने मेरो भूमिकाको पनि मूल्याङ्कन होओस् । इतिहासले नै पुरातŒवको संरक्षण गर्ने जिम्मेवारी दिएको छ र सम्भवतः दुई तीन महीना अलिक विश्राम गर्छु स्वच्छ जललाई साथमा लिएर । भगवान् विष्णु जेठमा जलमा विश्राम गरेपछि मेरो विश्राम शुरू हुन्छ र उनी उठ्नु अगावै म डिउटीमा तैनाथ हुन्छु ।
    सानातिना खाल्टाखुल्टीहरू कति महŒवपूर्ण हुन सक्छन् भन्ने कुरो कुशीनगरको भग्नावशेषहरू हेर्दा थाहा  हुन्छ । ती खाल्टाखुल्टीहरूले बौद्ध धार्मिकस्थलको रूपमा कुशीनगर विश्वप्रसिद्ध रहेको प्रमाण बोलिरहेको हुन्छ । अरू कसैले बोलिरहनुपर्दैन ।
    लाग्छ जहाँ खाल्टो बोल्छ, पानी बोल्छ र बोल्छ अनन्त मौनता ।
    कुशीनगरमा लम्पसार परेको मौनताले बुद्ध प्रतिमाप्रति अन्तर्हृदयमा अनौठो सम्मान भरिदिन्छ । यो अनुभूति सबै जनमा, प्रत्येक पल जाग्रत भइरहोस्, जसले हामीलाई आफ्नोपनको अनुभूति गराइरहन्छ ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us