Monday, March 18, 2019

गण्डक नहरको योजनामा जन्नतको जबरजस्ती

प्रस, परवानीपुर, ४ चैत/
    आर्थिक वर्ष २०७५–०७६ को प्रदेश नं २ को योजनामा परेको गण्डक नहर अन्तर्गतको सडकको पिच गर्ने योजनालाई सशोधन गरी अन्तै लैजान प्रदेश सांसद जन्नत अन्सारीले दौडधुप शुरू गरेका छन् ।
    उनी जनकपुर पुगी योजना संशोधन गर्न भौतिक पूर्वाधार मन्त्रालयमा निवदेन पनि दिएको बुझिएको छ । वीरगंज महानगर–१४ गण्डक बहुअरीदेखि अढाई किलोमिटर पश्चिम जगनाथपुर श्रीसिया खोलाको पुलसम्म प्रदेश सरकारले कालोपत्रे गर्न करीब ३ करोडको योजना अन्तर्गत यसै चालू आर्थिक वर्षमा रु ३० लाख छुट्याइसकेको छ । उक्त क्षेत्रमा कालोपत्रे भयो भने करिब एक दर्जन उद्योग, लिपनीबिर्ताको पटेलनगर, मनियारीको जगरनाथपुर, पर्साको मुख्य सडकको रूपमा व्यस्त सडक भएर ठोरीबाट समेत बस चल्ने गरेकोले हजारौ यात्रुलाई सहज हुने विश्वास छ ।
    स्थानीय जनताको अवश्यकता ठानेर प्रदेश सरकारले योजना स्वीकृत गरी प्रदेश सरकारको रातो किताबमा समेत योजना पासगरी अख्तियारीसमेत पठाइसकिएको अवस्थामा प्रदेश सांसद अन्सारीको पहलकदमी माथि स्थानीय जनता शङ्कित भएको वीरगंज–२१ लिपनीबिर्ताका वडा अध्यक्ष हबीब मियाँले बताए । उनले प्रदेश सांसद तथा सङ्घीय सासदले मनपरी स्थानीय वडा अध्यक्षसँग समन्वय र जानकारी नै नगराई योजना तथा काम गर्ने गरेकोले जनतालाई उपलब्धि नहुने जनाए । उक्त काम गराउन अख्तियारी पाएको जिल्ला समन्वय समिति परिसरभित्र रहेको योजना तथा विकास कार्यक्रमका प्रमुख इन्जियिनर प्रेम साहसँग बुझ्दा उनी जनकपुर गएका हुँदा वीरगंज आएपछि विस्तृत कुरा गर्ने प्रतिक्रिया दिए ।
    उक्त योजना सशोधन गरी ज्योति स्पिनिङदेखि चोर्नी गाउँ हुँदै बेल्वा कृषि सडकसम्म जाने सडकमा खर्च गर्न रकमान्तरको लागि प्रदेश सरकार समक्ष निवदेन दिएको प्रदेश सांसद अन्सारीले बताएका छन् ।
    उनले केन्द्रीय सडक विभागको बजेटमा पर्सा–बारा–रौतहट ८१ किलोमिटरमध्ये ६६ किलोमिटर सडक कालोपत्रे गर्ने योजना विभागले बढाइसकेकोले प्रदेश सरकारले किन लगानी गर्ने भनेर बजेट अन्तै लैजान लागेको स्वीकार गरे । तर लिपनीबिर्ता वडाका वडा सदस्य जतनराउत कुर्मीले सडक विभागले कहिलेसम्म कालोपत्रे गर्छ र कहाँकहाँ कालोपत्रे गर्छ, यकिन नरहेकोले भएको बजेट कटौती भए आपूmहरू आन्दोलनमा उत्रिने बताए । उनले प्रदेश सरकारको बजेटमा हस्तक्षेप नर्गन आग्रह गरेका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us