Thursday, September 27, 2018

समृद्धिका लागि निजगढ विमानस्थल

शीतल महतो
    नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भौतिक पूर्वाधारलगायत अन्य विभिन्न सुविधालाई हेर्ने हो भन्ने यो अन्य मुलुकको विमानस्थलको तुलनामा निकै कमजोर र भौगोलिक हिसाबले पनि निकै असुरक्षित रहेको प्रश्न बेलाबेलामा उठ्ने गरेको पाइन्छ । नेपालमा अवतरण गर्ने विमानहरूको सुरक्षाको विषय पनि बेलाबेलामा उठ्ने नगरेको होइन, हालै मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बङ्गला एयरलाइन्सको विमान दुर्घटनाले नेपालको हवाईसुरक्षाको विषयलाई पुनः एकपटक सोच्न बाध्य बनाएको छ । त्योभन्दा पनि नेपालमा उडान गर्ने विमानहरूका लागि अपरिहार्य मानिने आकस्मिक अवतरणको वैकल्पिक व्यवस्थालाई दृष्टिगत गरेर दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण झन् उजागर भएको छ ।
    मुलुकमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको कारण देखिएको यस्ता समस्यालाई दृष्टिगत गरी करीब २५ वर्ष अघि नै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अध्ययन शुरु गरियो । सन् १९९५ मा सम्पन्न उक्त अध्ययनका आधारमा आठवटा सम्भावित ठाउँमध्ये बाराको निजगढ क्षेत्रलाई सबैभन्दा उपयुक्त ठाउँ भनेर छनोट गरियो तर यस अवधिमा विमानस्थल निर्माणको काम खासै अगाडि बढेको छैन । यसैबीच एउटा कोरियन कम्पनीले परियोजनाको सशर्त अध्ययन गरेको छ । यो प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । ल्यान्डमार्क वल्र्डवाइड इन्टरनेशनल नामक कम्पनीले सन् २०११ मा गरेको विस्तृत सम्भाव्यता अध्ययन अनुसार निजगढमा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको कामका लागि करिब रु ६५ अर्ब खर्च लाग्नेछ । एक धावनमार्ग हुने उक्त विमानस्थलले वार्षिक एक करोड ५० लाख यात्रुलाई सेवा प्रदान गर्नेछ । दोस्रो चरणमा २५० अर्ब खर्च गरी दुईवटा धावनमार्ग निर्माण गरेर वार्षिक तीन करोड यात्रुलाई सेवा प्रदान गर्न सक्ने सो अध्ययनले देखाएको छ । यसैगरी सो अध्ययनले तेस्रो चरणको पूर्वाधार विकासका लागि थप रु ३५० अर्ब खर्च गरी उक्त विमानस्थलबाट वार्षिक ६ करोड यात्रुलाई सेवा दिन सक्नेछ ।
    यसैगरी करीब दुई वर्ष अगाडि नागरिक उडड्यन तथा पर्यटन मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन (इआइए) अघि बढाएको थियो । गत जेठमा यो प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत नै ग¥यो । त्यसपछि यही प्रतिवेदनका आधारमा सरकारले निजगढ क्षेत्रमा करीब २४ लाख रूख काट्नका लागि केही रकम विनियोजनसमेत गरेको छ । तर करीब २५ वर्षसम्म यत्तिकै थन्किएको यो परियोजनाको अहिले रातारात वन फडानी गर्ने योजना सार्वजनिक भएपछि सरकार एकाएक विवादमा फसेको छ । दुई लाख छिप्पिएका सालका रूखसहित करिब ६ लाख ठूलासमेत गरी करीब २४ लाख रूख काट्ने कुराले देशभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय तहमा नै बहस र चासो सिर्जना गरिदिएको छ । विनाविस्तृत योजना सरकारले यति ठूलो परिमाणमा जङ्गल फडानी गर्ने योजना अगाडि सारेपछि विभिन्न खालका शङ्का, उपशङ्का र प्रश्न उठेका छन् । अहिले मुलुकभित्र यो एउटा ठूलो बहसको विषय बन्न पुगेको छ ।
    डिपिआर र लगानीको निर्णय नहुँदै किन वन कटान ?
    अहिले सबैले शङ्का गरेको विषय भनेको नै यसको प्रक्रिया हो । सामान्यतया यस्ता आयोजना निर्माण गर्दा शुरुमा सम्भाव्यता अध्ययन, विकल्पहरूको विश्लेषण, छनोट गरिएको योजनाको विस्तृत अध्ययन, यसका लागि सामाजिक तथा वातावरणीय प्रभावको अध्ययन, लगत अनुमान, बजार अध्ययन, सञ्चालनका लागि आवश्यक सहमति र सम्झौताहरू र त्यसपछि मात्र बजेट व्यवस्थापन गरी काम शुरु गर्नुपर्ने हो । तर यो परियोजनाको विस्तृत अध्ययन अहिलेसम्म तयार भएकै छैन । तर नागरिक उड्डयन प्राधिकरणले सीधै इआइए गर्न लगाएर वन कटान गर्न बजेट विनियोजन ग¥यो । शङ्का र प्रश्न यहींबाट शुरु भएको छ । कतै विगतमा जस्तै वन कटान गर्ने र खाली जग्गामा सुकुम्बासी बसाल्ने तर अन्तिममा विमानस्थल चाहिँ नबन्ने त हैन ? होइन भने किन अरू प्रक्रिया शुरू नहुँदै रूख काट्न हतार गर्नुप¥यो ? यसतर्फ आम नागरिक संवेदनशील हुनै पर्दछ ।
भारतीय आकाश नियन्त्रणको सहमति कहिले ?
    निजगढमा निर्माण गर्ने भनिएको विमानस्थल भारतीय सिमानाबाट नजिक पर्ने भएकोले प्राविधिकरूपमा उडानका लागि आवश्यक पर्ने भारतीय आकाशको नियन्त्रणका लागि दुवै देशबीच सम्झौता आवश्यक पर्छ । जुन काम हालसम्म भएको छैन । सम्झौता नभएमा यसको सञ्चालन अत्यन्त कठिन हुने बताइएको छ । जसको पछिल्लो उदाहरण भैरहवा विमानस्थल हो, निर्माण सम्पन्न हुनै लागेको उक्त विमानस्थलका लागि भारतीय आकाश प्रयोग गर्ने कुनै सम्झौता नभएको कारण कतिपय कुरा अझै अन्योलमा छ । त्यसैले रूख काट्नुपूर्व यस्ता सम्झौता गर्नु अपरिहार्य मात्र होइन, अहिलेको आवश्यकता पनि हो । अन्यथा रूख काट्ने र पछि सम्झौता हुन नसकेको बहानामा विमानस्थलको निर्माण नै नहुने शङ्का स्थानीयको छ ।
विमानस्थलको क्षेत्रफल किन यति ठूलो ?
    विवादमा देखिएको अर्को तर अत्यन्त महŒवपूर्ण मुद्दा भनेको यसको क्षेत्रफल तथा भूगोल हो । ८० दशमलव ४७ वर्ग किलोमिटर क्षेत्रफलमध्ये करिब ८५ प्रतिशत भूभाग घना जङ्गलले ढाकेको छ । यो जङ्गल वातावरण र भूसामरिक दृष्टिकोणले अत्यन्त महŒवपूर्ण छ । प्राकृतिकरूपमा ट्रपिकल र सबट्रपिकल खालको यो जङ्गल हात्ती र बाघजस्ता जनावरको करिडोर हुनुका साथै राष्ट्रिय निकुञ्जलाई जोड्ने तथा हालसम्म बचेको मध्यतराईको एउटा मात्रै चारकोसे झाडी पनि हो । अन्तर्राष्ट्रिय रूपमा हेर्दा पनि अहिले एशियाकै व्यस्त बैंककको नयाँ विमानस्थल नै करिब ३२.४ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । सिङ्गापुर १७.२ किमि, दुबई २९ वर्गकिमि र दिल्ली २०.६ किमि क्षेत्रफलमा रहेको छ । यहाँ पनि करिब २० वर्गकिमि जति जमीन विमानस्थल र शहरका लागि अनुमान गरिएको छ तर किन ८० वर्गकिमि डिआइए गर्न लगाएर जङ्गल फडानी गर्ने योजना बनाइयो ? यसको उत्तर कुनै पक्षबाट आएको छैन । जङ्गल फडानी गर्नुको औचित्य सरकारले पुष्टि गर्न सकेको छैन । कहीं जङ्गल फडानी गर्ने तर विमानस्थल पनि नबन्ने त होइन भने शङ्का र प्रश्न उठ्नुलाई अन्यथा लिनुहुँदैन । तराई–मधेस अथवा प्रदेश नं. २ को मात्र होइन, सिङ्गो मुलुकको भविष्य र आउने पुस्ताको भविष्यसँग जोडिएको यो जङ्गलको रूख फडानी गर्ने सरकारी योजनाप्रति सबै सचेत हुनु स्वाभाविक हो ।
    वर्तमान सरकारले मुलुकको आर्थिक विकास र समृद्धि आप्mनो प्रमुख प्राथमिकता रहेको बताउँदै आएको छ । मुलुकको समृद्धि र सङ्घीयता कार्यान्वयनको चरणमा आइपुगेको अहिलेको अवस्थामा यस्ता बृहत् पूर्वाधार परियोजनाको विकास सरकारी साधन, स्रोत, प्रविधि र जनशक्तिबाट मात्र सम्भव छैन । यसका लागि पनि विदेशी लगानी, प्रविधि र अनुभवको आवश्यकता पर्छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई पिपिपी (तीन पी) को अवधारणामा अगाडि बढाउन पनि सकिन्छ । विश्वमा हाल सञ्चालनमा रहेका ३० प्रतिशत विमानस्थल पिपिपी अवधारणा अन्तर्गत सञ्चालनमा रहेका छन् । सन् २०२५ सम्म यो सङ्ख्या ५० प्रतिशतसम्म पुग्ने अनुमान विभिन्न अध्ययनले देखाएको छ । बिशेषगरी छिमेकी मित्र राष्ट्र भारतका प्रमुख शहर दिल्ली, मुम्बई, हैदराबाद, साउदी अरेबियाको मदिना विमानस्थल र जोर्डनको क्वीन आलियालगायत विमानस्थलको स्तरोन्नति तथा सञ्चालन पिपिपी अवधारणा बमोजिम नै भइरहेको सफल उदाहरण छ । नेपालले पनि यसबाट पाठ सिकेर यस विमानस्थलको निर्माण, सञ्चालन र स्तरोन्नति पिपिपी अवधारणाबाट गर्दा उपयुक्त हुन्छ ।
    यसरी प्रदेश नं. २ को मात्र नभई सिङ्गो मुलुकको आर्थिक समृद्धिका प्रमुख आधारका रूपमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि आम जनताको आवाज उठ्नुपर्दछ । अहिले हामीलाई विकास, समृद्धि र शान्तिका लागि सन्तुलित र वैज्ञानिक बाटो चाहिएको छ । जसले मौलिकता र स्वाभिमानका साथ बाँच्न सकियोस् । म र मेरोभन्दा पनि हामी र हाम्रो भावना, विचार र व्यवहारलाई प्राथमिकता दिएर परर्निभरता होइन, आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अगाडि बढ्नुपर्छ । यसका लागि निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत अन्य भौतिक पूर्वाधारको विकास गरी गरीबी न्यूनीकरण गर्ने खालको आर्थिक क्रान्ति र आन्दोलन जरूरी छ । त्यसका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकार तथा निजी क्षेत्रले उच्चस्तरको सहयोग, सहकार्य र समन्वयका साथ अगाडि बढनुपर्दछ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us