Monday, January 29, 2018

ठोरीको सेवा केन्द्र घ्याङडाँडा सार्ने निर्णय

प्रस, ठोरी, १५ माघ/
    ठोरी गाउँपालिकाको सेवा केन्द्र साबिक निर्मलवस्ती गाविसको घ्याङडाँडामा सारिने भएको छ। गाउँपालिकाको परिषद्पछि बसेको बोर्ड बैठकले ठोरी गाउँपालिका–५ सुवर्णपुरमा रहेको सेवा केन्द्र घ्याङडाँडा सार्ने निर्णय गरेको हो। साबिक ठोरी, निर्मलबस्ती र सुवर्णपुर गाविसलाई पायक पर्ने भएकोले सुवर्णपुरमा रहेको हालको सेवा केन्द्र ठोरी गाउँपालिका–४ को घ्याङडाँडा सार्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता रामप्रकाश कुँवरले जानकारी दिए ।
    गाउँपालिकाको बहुमत बोर्ड सदस्यले निर्वाचित भएको ६ महिनाभित्र सेवा केन्द्र सार्न सक्ने अधिकार प्रयोग गर्दे सेवा केन्द्र सारिएको प्रवक्ता कुँवरले जानकारी दिए।
    हाल रहेको सेवा केन्द्र अपायक देखिएकोले सार्ने पक्षमा बहुमत सदस्यले समर्थन जनाएको उनले बताए।
    सेवा केन्द्र सार्ने निर्णयमा आपत्ति जनाउँदै गाउँपालिकाका उपाध्यक्ष शान्ति थिङ र वडा ५ का अध्यक्ष रामबहादुर पाख्रीन भने बैठक छाडेर हिंडेका थिए। उपाध्यक्ष थिङ र वडाध्यक्ष पाख्रीनले सेवा केन्द्र सुवर्णपुरबाट सार्न नहुने भन्दै विरोध जनाएका थिए। गाउँपालिकाको बोर्डमा १३ जना सदस्य रहने व्यवस्था अनुसार उपाध्यक्ष थिङ, वडाध्यक्ष पाख्रीन र एकजना सदस्यसहित ३ जनाले असहमति जनाएका प्रवक्ता कुँवरले जानकारी दिए।
    बैठकले ठोरी हेल्थपोस्टलाई १५ शøयाको अस्पताल बनाउने निर्णयसमेत गरेको उनले बताए। भौतिक पूर्वधार लगायत कारणले ठोरी हेल्थपोस्टलाई अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको उनले बताए।

सुवर्णपुरद्वारा विरोध
    ठोरी गाउँपालिकाको पहिलो गाउँपालिका परिषद् ठोरी गाउँपालिका–२ हेल्थपोस्टमा चलिरहँदा सुवर्णपुरमा भने विरोध प्रदर्शन भएको छ।
    लोकतान्त्रिक पद्धति अनुसार परिषद् बैठक नगरिएको, गाउँपालिकाको बैठक सेवा केन्द्रमा नगरी ठोरीमा राखिएको, बजेट विनियोजन समान ढङ्गबाट गर्न नखोजिएको, सेवा केन्द्र सार्न खोजिएको भन्दै विरोधमा उत्रेको साबिक सुवर्णपुर गाविसका पूर्व अध्यक्ष जरीलाल थिङले बताए। सुवर्णपुर चोकमा आयोजित विरोधसभामा एमालेका सुन लामा, काङ्ग्रेसका शम्भुराम पौडेल, माओवादी केन्द्रका ध्रुव लामालगायत स्थानीय जनताको सहभागिता थियो।   

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

फरक समाचार

Find us