Monday, January 29, 2018

नदी, जङ्गली जनावर नियन्त्रण र सडक निर्माणलाई प्राथमिकतामा राख्दै ठोरी गापाको पहिलो परिषद् सम्पन्न

प्रस, ठोरी, १५ माघ/
    ठोरी गाउँपालिकाको सोमवार सम्पन्न पहिलो ऐतिहासिक गाउँपालिका परिषद्ले चालू आर्थिक वर्ष २०७४–०७५ का लागि रु २४ करोड ८७ लाख ५५ हजार ६ सय २५ रुपियाँको अनुमानित आयव्ययसहित वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। ठोरी गाउँपालिका–२ को ठोरी हेल्थपोस्ट परिसरमा आयोजित परिषद् बैठकमा गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले आर्थिक वर्ष २०७४–०७५ को अनुमानित आयव्यय विवरणसहितको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
    आर्थिक वर्ष २०७४–०७५ को निम्ति सञ्चित कोषबाट खर्च गर्न सकिने अधिकार अनुसार गाउँपालिका, वडापालिका, पूँजीगत खर्च गर्ने विषयगत सेवा र कार्यका लागि चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्था रकमसमेत गरी रु २४ करोड ८७ लाख ५५ हजार ६ सय २५ बराबरको बजेट अध्यक्ष श्रेष्ठले विनियोजन गरेका हुन्। जसमध्ये चालू खर्चतर्पm रु ५ करोड ५८ लाख ८३ हजार, पूँजीगत खर्चतर्पm रु १४ करोड ३५ लाख ४६ हजार ६ सय २५ र विषयगत सेवातर्पm रु ४ करोड ९३ लाख २६ हजार रहेको छ।
    अध्यक्ष श्रेष्ठले सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रममा दिगो विकासका लागि नदी नियणन्त्रण, जङ्गली जनावरको आतङ्क रोक्न विद्युतीय तारबारको व्यवस्था, सडकको स्तरोन्नति तथा निर्माण र पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा विशेष जोड दिइएको छ। अध्यक्ष श्रेष्ठले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनलाई पनि उच्च प्राथमिकताका राखिएको छ। स्वच्छ खानेपानी, सिंचाइ, पोषण कार्यक्रम, सीपमूलक तालिमलगायत क्षेत्रलाई बजेटले सम्बोधन गरेको छ।
    परिषद् बैठकमा गाउँपालिकाका उपाध्यक्ष शान्ति थिङले आगामी वर्षका लागि विनियोजित बजेट प्रस्तुत गरेकी थिइन्। गाउँपालिकाका प्रवक्ता रामप्रकाश कुँवरले आर्थिक विधेयक, वडा २ का अध्यक्ष किशोर तामाङले बजेट विनियोजन विधेयक प्रस्तुत गरेका थिए ।
    गाउँपालिका परिषद्मा निर्वाचित जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरु, सशस्त्र प्रहरी अस्थायी बिओपी ठोरीका प्रहरी निरीक्षक शिव चौधरी लगायतको सहभागिता थियो।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

फरक समाचार

Find us