रामेश्वर मेहता, सिम्रौनगढ, २३ मङ्सिर/
हालै मात्र सरकारले घोषणा गरेको बाराको ऐतिहासिक स्थल सिम्रौनगढ नगरपालिकामा एउटै बैंक छैन । नेपाल राष्ट्र बैंकको सटही काउन्टर र कृषि विकास बैंक शाखा रहेको सिम्रौनगढबाट माओवादी जनयुद्धकालमा सटही काउन्टर र बैंक विस्थापित भएदेखि हालसम्म पुनस्र्थापित हुन सकेको छैन ।
व्यापारिक दृष्टिकोणले बारामा तरकारीखेतीको लागि प्रख्यात सिम्रौनगढमा अहिलेसम्म विस्थापित बैंक पुनस्र्थापनाको लागि पहल गरिएको छैन । सिम्रौनगढमा वीरगंज भन्सार कार्यालय मातहतको छोटी भन्सार कार्यालय र इलाका प्रशासन कार्यालय पनि थियो ।
द्वन्द्वकालमा विस्थापित सो कार्यालयमध्ये अहिले नाममात्रको छोटी भन्सार कार्यालय स्थापित गरिएको छ । छोटी भन्सार कार्यालयमा अहिले सातामा एकपटक कर्मचारीहरू आउँछन् । बाँकी ६ दिन छोटी भन्सार कार्यालय स्थानीय दलालको भरमा सञ्चालन हुने गरेको छ । द्वन्द्वकालमा विस्थापित बैंक, सटही काउन्टर, इलाका प्रशासन कार्यालय र छोटी भन्सार कार्यालय पुनस्र्थापनाको लागि हालसम्म धेरैपटक पहल भएको छ र स्थानीयवासीले सोको माग पनि गर्दै आएका छन् ।
द्वन्द्वकाल समाप्त भएको एक दशक पुग्न लाग्दा पनि विस्थापित कार्यालयहरू पुनस्र्थापना नगरीकन सरकारले नगरपालिका घोषणा गरेको छ । सिम्रौनगढ नगरपालिका घोषणा भएकोमा सिम्रौनगढवासी औधी खुशी छन् तर नगरपालिकाको पूर्वाधार तयार पार्ने क्रममा भने सरकारले देखाएको उदासीनताप्रति आम जनता आक्रोशित छन् ।
सिम्रौनगढ आर्थिकरूपले कलैया नगरपालिकाभन्दा धनी छ । त्यहाँ स्थित २० वटा पोखरीको आम्दानीमात्र करोडौं छ । आलुखेतीलगायत अन्य तरकारीखेतीबाट पनि मनग्य आम्दानी हुने सिम्रौनगढ नगरपालिका भने राज्यले दिने सेवा र सुविधाबाट भने वञ्चित हुँदै आएको छ ।
हरिहरपुर, उचिडिह, अमृतगंज र गोलागंज मिलेर बनेको सिम्रौनगढ नगरपालिकामा एक मिटर पनि कालोपत्र सडक छैन ।
0 comments: