Friday, August 30, 2013

निरङ्कुश राजा महेन्द्र ?

–कुमार रुपाखेती
    २०१७ सालमा विश्वेश्वरप्रसाद कोइरालाको जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै राजा महेन्द्रले ठाडै सत्ताको बागडोर हातमा लिएर हदैसम्मको निरङ्कुशता प्रदर्शन गरेका थिए । राजा महेन्द्रको यो हस्तक्षेपपछि नेपालमा निरङ्कुश राजतन्त्र उदय भएको मानिन्छ । त्यसै पनि संसारभर नै एकलौटी राजतन्त्रलाई ‘निरङ्कुश’ शासन व्यवस्थाको बिल्ला भिराइन्छ । भनिन्छ अहिलेको युगमाा कतै पनि निरङ्कुश राजतन्त्रको गुन्जाइस र सम्भावना छैन । नेपालमा राजतन्त्र मटियामेट भएको लामै समय भयो, तर पनि नेपालमा पूर्व राजा वा राजतन्त्रले चलखेल गर्न थाल्यो, सत्तामा चासो लियो, राजनीति गर्‍यो भन्ने आरोप देरसबेर लाग्ने गरेको छ । कमल थापाहरूको राप्रपा, हिन्दूवादी सङ्घस·ठनहरू, राजा आऊ देश बचाऊ भन्नेहरू अझै खुलारूपमा राजा वा राजतन्त्रको वकालत गरिरहन्छन् र गणतन्त्रवादी भनाउँदाहरूको टाउको दुखाइ बनिरहन्छन् ।
    २०१७ सालको कदमको १० वर्षपश्चात् दियालो ब·ला चितवनमा राजा महेन्द्रको एकाएक स्वर्गवास भएको थियो । राजपाटबाट एकान्त खोज्न राजा महेन्द्र कहिले दियालो ब·ला चितवन, कहिले रत्नमञ्जील पोखरा, कहिले नागार्जुन डाँडा काठमाडौं त कहिले हेटौंडामा देश–देशाटन घुमिरहन्थे । शिकारका शौकिन शिकारी राजा महेन्द्र आफ्नो शौख पूरा गर्न नेपालका वनज·ल र डाँडा, काँडासमेत गर्ने गर्दथे ।
    २०१७ सालमा निरङ्कुश कदम उठाएपछि १० वर्षसम्म उनले निर्वाधरूपमा एकलौटी शासन चलाए । त्यसताका नामी–गिरामी प्रजातन्त्रवादीहरूलाई उनले लामै समयसम्म कारागारमा थुनछेक गरेर राखे, बाहिर हुने धेरैले अन्यत्रै शरण लिए । ‘भाग शान्ति– जय नेपाल’ भन्नेहरू कुलेलाम ठोके, खेमा परिवर्तन गरे । निरङ्कुश राजा महेन्द्रले आफ्नो निरङ्कुश पाराले मुलुकमा थुप्रै सुधार र रचनात्मक कामहरू गरे । उनले नेपाालबाट भारतीय रुपियाँ चलनचल्तीमा रोक लगाए, नेपाली नाकामा रहेका भारतीय चेकपोस्ट र भारतीय सेनालाई भारत फिर्ता पठाए, विभिन्न राष्ट्रहरूसँग दौत्य सम्बन्ध बढाए, चीन र भारतबीच समदूरी बनाए, त्रिभुवन विश्वविद्यालयको आधुनिकीकरण गर्दै उच्च शिक्षा नेपालमै हासिल गर्ने वातावरण बनाए, नेपालमैं नेपाली शिक्षक राख्ने प्रावधान बनाए, पाठ्यक्रमबाट भारतीय पुस्तकहरू विस्थापित गराए, नेपाललाई गौतम बुद्ध र सगरमाथाको देश भनी चिनाए । उनकै निरङ्कुशतन्त्रका बेला मुलुकले विदेशी सहयोगबाट उद्योगधन्दा, व्यापारबाट मुलुकको अर्थतन्त्रमा कायापलट गराए । वीरगंज चिनी मिल, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योग आदि निरङ्कुश राजा महेन्द्रकै देन थिए ।
    यिनै निरङ्कुश राजाले पूर्व–पश्चिम राजमार्गको अवधारणा ल्याएका हुन् । त्यसअघि गौर, जनकपुर, विराटनगर अथवा नेपालको पूर्वी भागमा जाँदा भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता थियो । नेपालमा खानेपानी र सहज बिजुली आपूर्ति यिनै निरङ्कुश राजाको देन थियो, नेपाल यिनकै पालामा असंलग्न राष्ट्रको सदस्य र नजाने अरू केके विदेशी नियोगको महत्त्वपूर्ण स्तर र स्थानमा पुगेको थियो । नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने गराउने सोच यिनकै थियो, जसलाई यिनका पुत्र राजा वीरेन्द्रले समेत निरन्तरता दिए, तर पापी दुनियाँले यो अभियानलाई असफल बनाइछाडे । निरङ्कुश राजा महेन्द्रले मुलुकका खातिर अरू थुप्रै ज्ञात, अज्ञात कारनामाहरू गरे, जसलाई वर्णन गर्न धेरै घोरिनुपर्ने हुन्छ । भन्नेहरू त भन्छन् त्यतिखेर विपी कोइरालासँग मिल्न नसक्नु राजा महेन्द्रको ठूलो कमजोरी र एकलौटी शासन गर्ने रहर थियो रे । तर भनिन्छ महेन्द्रको कूटनीति, रणनीतिबाट विदेशीहरूसमेत कायल हुन्थे । उनले नेपालमा भारतीय हस्तक्षेप न्यून गराउन हरसम्भव प्रयत्न गरे, यहाँसम्म कि माओत्से तुङलाई गोप्य पत्र लेखी एउटा विश्वासपात्रलाई चीन पठाएर सहयोग माग्दै गुहारसमेत लगाएका थिए रे । पछि यो भेद खुलेपछि इन्दिरा गाँधी आगबबुला भएकी थिइन् । 
    मैले माथि लेखेको हरफबाट राजा महेन्द्रको तारिफ गरेको होइन, बल्कि गणतन्त्र नेपालको वर्तमान हविगतसँग निरङ्कुश राजतन्त्रको समयलाई कुन ठीक कुन बेठीक भनी दाँज्न मात्र खोजेको हुँ । यस्तो लेखले राजतन्त्रलाई सेवा र टेवा पुग्छ भनी कसैले सोच्छ भने म के गरूँ ?
    म त भन्दैछु वर्तमान समयमा दुनियाँमा कतै पनि निरङ्कुश राजतन्त्र बाँच्न सक्दैन ।
    ‘आव देखा न ताव’ को पारामा शासन गर्न खोज्ने पूर्वराजा ज्ञानेन्द्रको हविगत सबैको सामु छर्ल· छ ।
    ... माया मिली न राम’को अवस्थामा छन् पूर्वराजा । ज्यापूले बारीमा ‘बुख्याचा’ राखेझै बुख्याचा पाराले शासन चल्दैन र शासन गर्न पनि पाइँदैन भन्ने हेक्का वर्तमान राजनैतिक नेतृत्वलाई देरसबेर ज्ञात होस्, चेत खुलोस् । पुराना कुराहरू उभिन्नुको पछाडि सारमा यही भाव रहेको बुझ्न पाठकसँग आग्रह १ अस्तु १

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us