Thursday, May 24, 2012

तपस्वी भनिएका बमजनद्वारा आफ्नै बहिनी बन्धक कारबाईको माग गर्दै परिवारद्वारा प्रहरीमा जाहेरी

प्रस, पथलैया, १० जेठ/
    एक विदेशीसहित दुई महिलालाई तीन महिनासम्म बन्धक बनाएका रामबहादुर बमजनले आफ्नै बहिनिलाई चार दिनदेखि बन्धक बनाएर राखेको रहस्य सार्वजनिक भएको छ ।
    बमजनकी आमा मायादेवीले बोधी श्रवण धर्म सङ्घले १२ वर्षीया छोरी रन्जितालाई आइतवारदेखि बन्धक बनाएको भन्दै इलाका प्रहरी कार्यालय सिमरामा बुधवार जाहेरी दिएपछि बन्धकको रहस्य सार्वजनिक भएको हो ।
    बमजनीका आमा मायादेवी र दिदी राजकुमारीले प्रहरी कार्यालयमा जाहेरी दिंदै बहिनीको रिहाइ गरिदिन आग्रह गरेका छन् । उनीहरूले रन्जितालाई बन्धक बनाएर राख्न सहयोग पुर्‍याउने बोधी श्रवण धर्म सङ्घमाथी कारबाई गर्न माग गरेका छन् ।
    बमजनले यसअघि स्लोभाकियाकी मारिचि र निजगढकी आनी भनिने महिलालाई तीन महिनासम्म तपस्यास्थल हलखोरियामा बन्धक बनाएर गत चैत्र महिनामा रिहा गरेका थिए ।
    इलाका प्रहरी कार्यालय, सिमरा पुगेकी बमजनकी आमा मायादेवीले बम्जन र उनको संरक्षण गर्ने सङ्घले आफ्नी कान्छी छोरीलाई आइतवारदेखि बन्धक बनाएर राखेको बताइन् ।
    विदेश भ्रमणमा जाने तयारी गरिरहेका बमजनले नागरिकता नदिएको भन्दै आफ्नै बहिनीलाई बन्धक बनाएको परिवारको भनाइ छ । आमा मायादेवीका अनुसार बमजनले विदेश भ्रमण जान नागरिकता चाहिएकोले आफ्नो (आमाको) नागरिकता चाहिएको भन्दै दुई महिनादेखि दबाब दिंदै आएका थिए । नागरिकता दिन नमानेपछि बहिनीलाई बन्धक बनाएर नागरिकता दिएमात्र छोडिदिने बताएको आमा मायादेवीको भनाइ छ ।
    देशका लागि केही गर्न नसक्नेले किन विदेश जानुपर्‍यो भन्दै नागरिकता दिन नमानेपछि बहिनीलाई बन्धक बनाएको आमा मायादेवीको भनाइ छ ।
    बमजनको बोधी श्रवण धर्म सङ्घले केही दिनअघि रतनपुरी गाविसबाट बम्जनको नक्कली जन्मदर्तासमेत निकालेको थियो । रामलाल बमजनको नामबाट २०५१ सालमैं जन्मदर्ता भएपनि सङ्घका व्यक्तिले रनतपुर गाविसका सचिव आसमहमद अंसारीबाट धर्म सङ्घको नाममा बमजनको नक्कली जन्मदर्ता निकालेका हुन् । नक्कली जन्मदर्ता निकालेपछि बमजनका परिवारले जिल्ला प्रशासन कार्यालयमा पनि जाहेरी दिएका थिए ।
    प्रहरी कार्यालयमा भेटिएकी बमजनकी दिदी राजकुमारीले आमाको नागरिकता नपाएकै कारण सङ्घले बहिनीलाई बन्धक बनाएको बताइन । उनले बहिनी बन्धक बनाएको थाहा पाएर तपस्यास्थल पुगेका दुई दाजुभाईलाई समेत एक रात बन्धक बनाएर कुटपिट गरेको बताइन् ।
    “बहिनी बन्धक बनाएको थाहा पाएपछि दाइ र भाइ तपस्यास्थल पुगेका थिए”– यसैबीच तपस्यास्थल पुगेका रतनपुरीका स्थानीय बासिन्दा र सङ्घका व्यक्तिबीच म·लवार दिउँसो केही समय झडपसमेत भएको थियो । सङ्घले पटकपटक परिवारका सदस्यलाई बन्धक र कुटपिट गर्दै तनाव दिइरहेको भन्दै २०–२५ जनाको सङ्ख्यामा  गाउँलेले विरोध जनाएपछि केही बेर झडप भएको थियो । झडपका क्रममा सङ्घका व्यक्तिले तरवार र लाठीसहित गाउँलेलाई खेदेको राजकुमारीले बताइन् ।
    यता इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केपी शर्माले बम्जन र उनको संरक्षण गर्ने बोधी श्रवण सङ्घले फेरि पनि बालिका बन्धक बनाएको भन्दै जाहेरी परेको र छिट्टै बालिकाको उद्धार गरिने बताए । बम्जनले पटक–पटक कानुनविपरीत कार्य दोहोर्‍याएको भन्दै शर्माले उनी र सङ्घमाथिसमेत कारबाई गरिने बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us