Monday, September 12, 2011

राष्ट्रनिर्माणमा विद्यार्थीको भूमिका

अनन्तकुमार लाल दास
    राष्ट्र भनेको मानिसहरूको समूह हो, जो एउटा निश्चित भूभागमा आफ्नै सरकार अन्तर्गत बसोबास गर्दछ। दोस्रो “निर्माण” भन्नाले यहाँ भवन निर्माण होइन विकाससँग सम्बन्धित छ। यस अर्थमा राष्ट्रनिर्माण भन्नाले देश विकासलाई सम्झनुपर्छ। एकजना विचारकका अनुसार “देश भनेको माटो होइन, मानिसलाई सम्झनुपर्ने हुन्छ।” यसकारण यसको भित्री अर्थ मानव विकाससँग जोडिएको छ किनभने कुनै पनि देशको विकास त्यहाँ बसोबास गर्ने मानिसद्वारा नै सम्भव हुन्छ। मानिसहरूले नै राष्ट्रलाई बलियो बनाउन अथक परिश्रम गर्नुपर्ने हुन्छ। भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामका अनुसार,“राष्ट्रको विकासको कुरो त्यहाँ बसोबास गर्ने मानिसहरूको सोचाइमाथि निर्भर हुन्छ।”
    अब प्रश्न उठ्छ राष्ट्र र विद्यार्थीबीच के सम्बन्ध छ ? सबैभन्दा पहिला हामीलाई के थाहा हुनुपर्छ भने मानिसले आफ्नो सोच, कल्पना शक्ति र कत्र्तव्यपालनले आफ्नो देशलाई महान् बनाउन सक्छ । यस अर्थमा विद्यार्थी यदि बीउ हुन् भने मानिस त्यस बीउबाट उम्रेको रूख। एउटा राम्रो बीउले नै राम्रो रूख प्रदान गर्छ र राम्रो रूखले नै मीठो फल दिन्छ । एउटा विद्यार्थी नै भोलि त्यस देशका सुयोग्य नागरिक बन्छ र त्यो सुयोग्य नागरिकले नै पहिलेभन्दा राम्रो समाजको निर्माण गर्छ। यसप्रकार समृद्ध राष्ट्रको सूत्र भनेको राम्रो विद्यार्थी, नैतिकवान समाज र समृद्ध राष्ट्र हुन आउँछ। एउटा गुणवान र विवेकशील विद्यार्थीले यस्तो इमानदार समाजको निर्माण गर्दछ, जो राजनीतिकरूपले सन्तुलित, आर्थिक दृष्टिकोणले परिपूर्ण र नैतिक धरातलमा उभिएको हुन्छ। यस्तो राष्ट्रको प्रतिष्ठा सधैंका लागि हुन्छ किनभने त्यस्ता विद्यार्थी राष्ट्रिय विकासका मेरूदण्ड हुन्छन्।
    आजका विद्यार्थी नै राष्ट्रको भावी उत्तराधिकारी भएको हुनाले उनीहरू दक्ष, कुशल र  नैतिकवान हुनुको साथसाथै राजनीतिक र आर्थिक विचारले सुसज्जित हुनुपर्छ। उनीहरू राष्ट्रका आधार स्तम्भ हुन्, जसमाथि नयाँ नेपालरूपी सुन्दर भवनको निर्माण हुनेछ । यस अर्थमा आधारस्तम्भ बलियो भए भवन पनि बलियो हुन्छ र कमजोर भए खस्न पनि बेर लाग्दैन। यसकारण विद्यार्थीहरूमा जित्ने प्रबल चाहना, सफलता प्राप्त गर्ने साहस र समस्याहरूलाई बुझ्ने र निराकरण गर्ने बुद्धि हुनु अति आवश्यक छ।
    अब प्रश्न उठ्दछ कि राष्ट्रनिर्माणमा विद्यार्थीहरूको भूमिका के छ त ? विद्यार्थीहरू राष्ट्रका अभिन्न अङग हुन्। उनीहरू भविष्यका यस्ता नागरिक हुन्, जसको राष्ट्रलाई बढी आवश्यकता पर्छ । भविष्यमा राष्ट्रका लागि उनीहरू उत्पादक, संरक्षक र दार्शनिक हुन सक्छन् । उत्पादक भन्नाले आवश्यक वस्तुहरूको उत्पादन गर्ने जो कृषि, इलेक्ट्रोनिक्स, इ्रन्जिनियरिङ, स्वास्थ्य, शिक्षा आदिसँग सम्बन्धित हुन सक्छ। यसैगरी संरक्षक भन्नाले राष्ट्रको सार्वभौमिकतालाई सुरक्षा प्रदान गर्ने जो नेता, ब्यूरोक्रेट्स, न्यायालय, सुरक्षा निकाय आदिसँग सम्बन्धित हुन सक्छ।  दार्शनिक भन्नाले राष्ट्रलाई सुमार्ग निर्देशन प्रदान गर्ने नागरिक समाजसँग वा अन्य सरोकारका निकायसँग सम्बन्धित हुन सक्दछ। यसप्रकार वर्तमानको विद्यार्थी पुस्ताले नै भोलि गएर आफ्नो राष्ट्रलाई सबल र सफल राष्ट्र बनाउन सक्ने क्षमता राख्छन्। यसकारण देश निर्माणका लागि विद्यार्थीहरूले हरसम्भव प्रयास गर्नुपर्छ।
    मूलत: हरेक राष्ट्रलाई गाँस, बास र कपासको आवश्यकता पर्छ। तर भौतिक सुखको चाहनामा हामी मानव संसाधनको विकास गर्न बिर्सिरहेका छौं । यस सन्दर्भ विद्यार्थीहरू यस्ता स्रोत हुन सक्छन्, जो आफ्नो समाज र राष्ट्रलाई बलियो बनाउन सक्छन्। उदाहरणस्वरूप जापान एउटा सानो देश हो। द्वितीय विश्वयुद्धमा अमेरिकाद्वारा नागासाकी र हिरोशिमामाथि परमाणु बम खसाल्दा लाखौं जापानीहरू मृत्युलाई वरण गर्न पुगे भने बाँचेकाहरू मृत्यु सरह नै जीवन बाँच्न विवश थिए। तर पनि मानव संसाधनको विकासले गर्दा नै यिनीहरूले विश्वलाई रोबोट प्रदान गरे। वर्तमानमा जापान अन्तर्राष्ट्रिय रोबोट पसलको रूपमा चिनिन्छ। त्यस्तै हाम्रै छिमेकी चीनको कुरो गर्दा आज यो इन्जिनियरिङको क्षेत्रमा विश्वप्रसिद्ध भइसकेको छ। समुद्री खाडीमा ३६ किलोमीटरको पुल, हिमालयमाथि सडक र तीनवटा घाटीमाथि बाँध निर्माण गरी यसले विश्वलाई चकित पारिदिएको छ । आज यो नोकिया सेट, एप्पल कम्प्युटर निर्माणमा विश्वको कारखाना नै भइसकेको छ। चीनले अत्यधिक जनसङ्ख्यालाई मानव संसाधनको रूपमा विकसित गरेको हुनाले नै सम्भव भएको कुरा प्रमाणको रूपमा हाम्रोसामु छर्लङग छ।
    विद्यार्थीहरूले पर्यावरणको पनि निरीक्षण गर्नुपर्छ। यस अर्थमा उनीहरू हरेक क्षेत्रमा सक्रिय हुनुपर्छ। उनीहरू राजनीतिमा पनि सहभागी हुनुपर्छ। प्लेटोका अनुसार,“२५ वर्षसम्म प्रारम्भिक तहको र ३५ वर्षसम्म उच्च तहको शिक्षा प्रदान गर्नुपर्छ। यो उमेर मानसिक समस्यालाई मानसिक चिकित्साद्वारा नै हल गर्ने समय हो।” यदि विद्यार्थीहरू हरेक क्षेत्रमा सहभागी हुँदैनन् भने उनीहरू त्यस नदीको जस्तो हुन्छन्, जसमा कुनै बहाव हुँदैन। यस्तो नदी भ्यागुतो, पानीमा उम्रने तर काम नलाग्ने बिरुवा र किटाणुहरूको घर बन्न पुग्छ। नेपाली राजनीति पनि यस्तै घरको रूपमा परिणत हुँदै गएकोले दिन प्रतिदिन लक्ष्यविहीन हुँदै गइरहेको छ। विद्यार्थीहरूले पनि यस समस्याप्रति गम्भीर बन्दै राष्ट्रको सुरक्षाका लागि आफ्नो पाइला अघि सार्नुपर्छ।
    यस सन्दर्भमा मलाई प्राचीन युनानी मोडेलको सम्झना हुन्छ। जस अनुसार देशका हरेक युवा सेनामा भर्ती हुनुपर्दथ्यो र ३५ वर्षसम्म सैनिकको रूपमा देशसेवा गरेपछि मात्र राजनीतिमा प्रवेश गर्न पाउँदथे र जब ऊ राजनीतिबाट निवृत्त हुन्थ्यो तब पादरीको रूपमा देशसेवामा संलग्न हुन्थे। यो नै युनानको प्रत्यक्ष लोकतन्त्र थियो। यसकारण नेपाली विद्यार्थीहरू नेपालका लागि सम्भावनाको प्रतीक भएको हुनाले हरेक क्षेत्रलाई प्रभावित गर्ने क्षमताबोध उसमा हुनु नितान्त आवश्यक छ।
    एउटा विद्यार्थीले हरेक क्षेत्रमा अनुशासित भई काम गर्नुपर्छ । उनीहरू राष्ट्रका लागि बाधक होइन सहायक हुनुपर्छ किनभने विद्यार्थीहरू त्यो शक्ति हुन् जो सिक्छन्, चुनौतीलाई स्वीकार गर्छन् र सफलता प्राप्त गर्छन्। एउटा विद्यार्थी स्वप्नदर्शी मात्र नभई क्रियाशील व्यक्तित्वका स्वामी पनि हुनुपर्छ। एउटा युवा विद्यार्थीले राष्ट्ररक्षाका लागि सिपाहीको भूमिका पनि निर्वाह गर्नुपर्छ। यो चुनौतीपूर्ण कार्य सकारात्मक सोच भएका विद्यार्थीहरूले मात्र गर्न सक्छन्। यसकारण के भन्न खोजिएको हो भने सकारात्मक सोच र सही दृष्टिकोण भएका विद्यार्थीहरूबाट मात्र देश निर्माणको कार्य सम्भव छ। 
        वर्तमानमा हाम्रो राष्ट्र केही स्वार्थी मानिसहरूले गर्दा भ्रष्टाचारको दलदलमा पँmस्दै गइरहेको छ। भ्रष्टाचारबेगर न्याय पाउन पनि गार्‍हो भइसकेको छ। भ्रष्टाचारको अन्त्य हुनु नितान्त आवश्यक भइसकेको छ। विकासको हरेक पाइलामा इमानदार मानिसहरू अगाडि आउनु र उनीहरूलाई प्रतिष्ठा प्रदान गर्नु वर्तमानको खाँचो रहेको छ। एउटा विद्यार्थी निस्स्वार्थी हुनुपर्छ र निस्स्वार्थको पाठ प्रत्येक विद्यार्थीलाई पढाउन अघि सर्नुपर्छ। यसबाट एउटा यस्तो समूहको निर्माण हुन्छ, जसले राम्रो समाज र सक्षम राष्ट्रनिर्माणमा कुशल नेतृत्व प्रदान गर्न सक्छन्। यस अर्थमा विद्यार्थीहरूले नयाँ र पुरानो पीढीबीच सेतुको काम पनि गर्नुपर्छ। उनीहरूले पुरानो पीढीसँग सुझाव लिएर नयाँ पीढीलाई दिशानिर्देश गर्नुपर्छ। यसबाट ज्ञानवृद्धिका साथसाथै राष्ट्रनिर्माणमा समेत मदत पुग्छ।
    नेताहरू जन्मजात नेता हुँदैनन्, उनीहरूलाई बनाउनुपर्छ। यसका लागि विद्यार्थी जीवन उपयुक्त समय हो। विद्यार्थी जीवनमा घृणाको दृष्टिले यहुदी शिक्षकहरूलाई हेरेको हुनाले नै हिटलरलाई कुख्यात बनायो। जो विद्यार्थी आफ्नो विद्यार्थी जीवनमा कठिन परिश्रमी थिए, उनीहरू नै पछि गएर महान् व्यक्ति बने। यसप्रकार विद्यार्थी समाज र राष्ट्र विकासको एउटा महत्त्वपूर्ण अङग हो। यसकारण माथि उल्लिखित सम्पूर्ण सिद्धान्तहरूको परिपालना आफ्नो विद्यार्थी जीवनमा गर्नु नै बेश हुनेछ किनभने समाज वा राष्ट्रमा राम्रो कुराको सङ्ख्या बढ्यो भने राष्ट्र राम्रोपनतिर अग्रसर हुन्छ। राम्रो राष्ट्रका पक्षधर विद्यार्थीहरूले सानै प्रयास गरेर पनि राष्ट्रलाई राम्रोपनतिर बढाउन सक्छन्। त्यसतर्फ लाग्नु नै राष्ट्रनिर्माणमा विद्यार्थीको प्रमुख भूमिका हुनेछ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

Find us