Thursday, May 12, 2011

फोहर मैला व्यवस्थापन

–इ. गोपाल श्रेष्ठ
    सभ्य समाज सधैं सफा रहन्छ। अर्थात् कुनै शहर सफा देखियो भने बाहिरबाट घुम्न आउने मान्छेको मुखबाट स्वत:स्फुर्त यस्ता उद्गार सुन्न पाइन्छ– अहा १ यो शहरको मान्छेहरू कस्ता सभ्य रहेछन्। तर आज हाम्रा शहरहरू सबै फोहर छन्। फोहर मैला व्यवस्थापन हाम्रो लागि चुनौती नै भएको छ। फोहरको थुप्रोले हाम्रो त मन खिन्न ‘मुडअफ’ हुन्छ भने विकसित राष्टूहरूबाट आएका विदेशीहरूको लागि टाउको दु:खाइ नहुने कुरै भएन। आजभन्दा दुई दशक पहिले काठमाडौंलाई सफा शहर नै मानिन्थ्यो र हामीलाई विदेशीहरूले गिज्याउँदैनथे। तर आज देशको बेरोजगारितासँगै ह्वात्तै बढेको जनघनत्वको चापको कारण जहाँतहीं थुप्रिएको फोहर–मैला देखेर काठमाडौंलाई विदेशीहरूले गिज्याइरहनु नै पर्दैन। उनीहरूको अगाडि हामीलाई त्यसै पनि आत्माग्लानि भइहाल्छ। विकसित राष्ट्रहरूले फोहर मैला व्यवस्थापन चुस्त दुरुस्त गरेको देख्दा हामीलाई अचम्म लाग्छ। कहिलेकाहीं हाम्रो मनमा यस्तो तरङग आउछ– यिनीहरूले फोहर नै गर्दैनन् कि कसो १ फोहर त जरूर गर्छन्। तर, फोहर व्यवस्थापन चुस्त ढङगले गर्छन्।
    फोहर मैलाको पहिलो सिद्धान्त त फोहर नै नगर्नु हो। हामीले फोहर नै गरेनौं भने फोहर मैला व्यवस्थापन त्यसै पनि सरल भएर जान्छ। फोहर नै नगर्नु त सम्भव छैन। तर, चेतनाको स्तर अभिवृद्धि भएको छ भने फोहर व्यवस्थापन सहज हुन जान्छ। कुनै पार्टी अथवा पिकनिकमा हामीले खान सक्ने परिमाणको खाना मात्र लियौं भने पनि हामीले फोहर मैला व्यवस्थापनलाई सहयोग नै गरेको ठहर्छ। कारण, हामीले फ्याँकेको खानाले फोहर मैला व्यवस्थापनको चुनौतीलाई झन् चुनौतीपूर्ण बनाइदिन्छ। त्यस्तै, कुनै सामान खरिद गर्दा हामीले पोलिथिनको थैलीसहित सामान लिएनौं भने पनि हामीले फोहर मैला व्यवस्थापनलाई सहयोग गरेको ठहर्छ। कुनै पनि सामान प्रयोग गर्दा ‘वेस्टेज’ नगर्ने, गर्नै परे पनि न्यूनतम प्रयोग गर्ने, वेस्टेज सामानलाई सकेसम्म पुन: प्रयोग गर्न कोशिश गर्ने वा पुन: प्रशोधन गरी केही उपयोगी सामान बनाई प्रयोगमा ल्याउने गर्‍यौं भने यसबाट हाम्रो घर, गाउँ/समाज, शहर, बाटो र राष्ट्रमा नै फोहर मैला व्यवस्थापनलाई सहयोग त पुग्न जान्छ नै, र थोरै मात्रामा भएपनि आर्थिक बचत तथा आर्जनसमेत हुन्छ। फोहर मैला व्यवस्थापनमा अनुशासन तथा संस्कारको पनि भूमिका रहन्छ। जेसुकै फोहर जतासुकै फ्याँक्ने हाम्रो संस्कार छ। यस्तो कार्य व्यक्तिगत लगायत सार्वजनिक हितका निम्ति पनि एकदम नै आपत्तिजनक हो। पान, सुर्ती, खैनी, गुट्खा खाएर फ्याँक्ने, थुक र माटोमा नगल्ने प्रकारको त्यसको प्लास्टिक खोल, सिगरेट (चुरोट) को ठुटा, कागजको टुक्रा, सुर्ती, खैनी, गुट्खाको व्यापार, खकार, सिँगान आदि मात्र पनि निर्दिष्ट ठाउँमा फ्याँके फोहर मैला व्यवस्थापनमा ठूलो सहयोग पुग्न जान्छ।
    फोहर मैला व्यवस्थापनमा प्रविधिभन्दा व्यवस्थापन पक्ष हावी जस्तो लाग्छ। सडकको नालामा नबग्ने, नकुहिने जस्ता फोहर जथाभावी फ्याँक्नु हुँदैन भन्ने कुरा सबैलाई थाहा छ, तर सबैले फ्याँकिरहेका छन्। वर्षापूर्व ढल/नाला सफा गर्नु/गराउनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ। तर न कसैले यस्तो काम गर्छ न गराउन कुनै पहल गर्छ। पोलिथिन/प्लास्टिकका टुक्राटाक्री आदिले नाला थुन्छ, यो गलेर जाँदैन भन्ने कुरा पनि सबैलाई थाहा छ। प्रत्येक जिम्मेवार जनमानसमा यस्ता कुरा थाहा भएर पनि यी सबै गर्न नहुने कामहरू भइरहेको र हुने गरेकोले प्रविधिभन्दा व्यवस्थापन पक्ष हावी भएको भनिएको हो। जसको कारण हामी आफैंले गर्दा सडकमा हिंड्दा या शहर बजार जाँदा दुर्गन्धले नाक खुम्च्याएर, मुख छोपेर हिंडिरहेका हुन्छौं। दुर्गन्धले गर्दा हिड्दा हिंड्दै वा बसिरहेकै ठाउँमा थुकेर थप फोहर दुर्गन्ध गरिरहेका हुन्छौं। यस्तो कुराको कसैले याद गरिरहेको हुँदैन। यी सबै जनचेतना र सुशासनको अभावकै कारण भएको मान्न सकिन्छ। कुहिएर जाने अर्गानिक फोहरलाई कम्पोस्ट मल बनाई मोहर (आम्दानीको स्रोत) बनाउने प्रविधि विकसित भएको नै छ। साथै, कुहिएर नजाने, तर पुन: प्रयोग गर्न सकिने फोहर जस्तो–पोलिथिन, प्लास्टिक, रबर, शीशा, टिन, फलामका टुक्राहरू आदि कच्चा पदार्थको रूपमा तह लगाउन सकिन्छ। केही सिप नलागे ‘इन्सीनेरेटर’ जस्तो प्रविधि प्रयोग गरी उच्च तापक्रममा पगाल्न पनि सकिन्छ। शहरको मान, मर्यादा तथा शानको लागि पनि फोहर मैला व्यवस्थापन गर्नै पर्छ। साथै, जनताको स्वास्थ्यको लागि पनि फोहर मैला व्यवस्थापन गर्नैपर्छ। फोहरको कारणले आउँ, हैजाजस्तो सङ्क्रमित रोग फैलियो भने जनमानसलाई त हैरान पार्छ नै, देश हाँक्ने सरकारलाई समेत अस्तव्यस्त पार्न पछि पर्दैन। तसर्थ फोहर मैला व्यवस्थापन सही ढङगबाट गर्न सरकारले विभिन्न सरकारी वा गैरसरकारी सङ्घ/संस्थालाई आवश्यकता बमोजिम कानुनी बल, आर्थिक सहयोग र प्रविधि उपलब्ध गराएर भएपनि प्रोत्साहित गर्दै तालिम सहितको जनचेतना अभिवृद्धि गराउनु र सुशासन कायम गर्नु आजको आवश्यकता बनेको छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us