Monday, December 20, 2010

प्रचारको अभावमा बाराका पर्यटकीय क्षेत्र ओझलमा

-गोकुल घोरसाइने, निजगढ    पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको बाराको सिम्रौनगढ क्षेत्र पूर्वाधार विकास र प्रचार–प्रसारको अभावमा ओझलमा परेको छ।
    जिल्ला विकास समिति र सरकारी निकायले यस क्षेत्रको विकासमा पूर्वाधार निर्माण र प्रचारप्रसारमा चासो नदेखाएपछि पर्यटकहरूको आकर्षक गन्तव्य बन्नसक्ने सम्भावना बोकेको यो क्षेत्र ओझलमा परेको हो।
    “पर्यटकहरूलाई लोभ्याउने धेरै ठाउँ छन्, तर प्रचार नभएकाले घुम्न आउने कोही छैन”– जिल्ला विकास समितिका पूर्व सभापति छठुप्रसाद यादवले बताए। यस क्षेत्रमा रहेका पोखरी र मन्दिरहरू पर्यटकका लागि आकर्षणका केन्द्र बन्न सक्ने उनले बताए। सिम्रौनगढ क्षेत्रमा इसरा र झरोखरजस्ता ठूला पोखरी, रानीबास र कङकालीजस्ता पुराना मन्दिरहरू छन। “पोखरीमा डुङगा विहार गराएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ”, यादवले  भने–“तर पर्याप्त प्रचारप्रसार र पूर्वाधारको विकास हुन नसक्दा पर्यटक आउन सकेका छैनन्।” झरोखर ५२ बिघा र इसरा पोखरीको जलाशय करिब २२ बिघा क्षेत्रमा फैलिएको छ
    मध्यकालीन तिरहुत राज्यको राजधानीको रूपमा रहेको सिम्रौनगढ ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको अमृतगंज गाविसका पूर्व अध्यक्ष गगनदेव कुशवाहा बताउँछन्। यहाँ रहेका पोखरी र कङकालीमाईको मन्दिर १५ औ शताब्दीमा राजाहरूले निर्माण गरेको उनले जानकारी दिए। कर्णाटवंशी राजाहरूले राजधानीको सुरक्षाको लागि पोखरी निर्माण गर्न लगाएको उनले बताए। कर्णाटवंशका अन्तिम राजा हरिसिंह देव गद्दी छोडेर उपत्यकातर्फ लागेपछि राज्य छिन्नभिन्न बन्न पुगेको उनले बताए। दिल्लीका बादशाह गयासुद्दिन तुबलकको आक्रमणमा पराजित बनेका हरिसिंह देव भागेर भक्तपुरका मल्ल राजाकहाँ शरण लिन गएपछि तिरहुत राज्य र राजधानी सिम्रौनगढ विखण्डित हुन पुगेको इतिहासका पुस्तकहरूमा उल्लेख भएको उनले जानकारी दिए। “राजा पलायन भएपछि मुसलमान सेनाले मन्दिर र मूर्तिहरू ध्वस्त पारे”, कुशवाहले भने– “दरबार र मन्दिरका भग्नावशेष र पोखरीको अवशेष अहिले पनि पाइन्छन्।” यहाँ रहेका विष्णु, राजदेव र कृष्णका पुराना मूर्ति र कचोर्वा गाविसको इसरा पोखरी छेउमा  रहेको पारसनाथ भनिने दुईमध्ये एक पत्थरसमेत हराएको स्थानीय बासिन्दाले बताएका छन्। उपत्यकाको भक्तपुरमा रहेको तलेजु भवानीको मूर्ति सिम्रौनगढबाट नै ल्याइएको बताइन्छ। राजा हरिसिंह देवले इष्टदेवी तलेजुलाई आफूसँगै ल्याएर भक्तपुरमा स्थापना गरेका हुन्।
    संरक्षणको अभावमा ऐतिहासिक  महत्त्वका वस्तुहरू नष्ट भएर सिम्रौनगढमा पर्यटकीय विकाससमेत हुन नसकेको स्थानीय पत्रकार रामेश्वर मेहता बताउँछन्। “सरकारी बेवास्ताले बचेखुचेका धरोहर पनि जीर्ण बन्दैछन्”–मेहताले बताए।
    जिल्ला सदरमुकाम कलैयाबाट करिब १५ किमी दक्षिणपूर्वमा भारतीय सीमासँग जोडिएको सिम्रौनगढ क्षेत्र हाल अमृतगंज, गोलागंज र उचिडिह गाविसमा फैलिएर रहेको छ। सदरमुकाम कलैयाबाट सिम्रौनगढसम्म पुग्ने सडक समेत मरम्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ।
    जिल्ला विकास समतिका अधिकृत भरत यादव कार्यालयले जिल्लामा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरेको भए पनि पर्याप्त प्रचारप्रसार र पूर्वाधार विकास गर्न नसकेको स्वीकार गर्छन्। जिल्लामा सिम्रौनगढलगायत बरियारपुरको गढीमाई, डुमरवानाको हलखोरिया र अमलेखगंजस्थित पर्सा वन्यजन्तु आरक्ष र करैया गाविसस्थित सहजनाथ महादेवको मन्दिर पर्यटकीय दृष्टिले महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको उनले बताए। कार्यालयले सिम्रौनगढ र गढीमाई क्षेत्रको पर्यटकीय विकासको लागि गुरु योजना तयार पारेर पूर्वाधार र प्रचारप्रसार थालेको उनले जानकारी गराए।  

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us